विराटनगर - मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई हिजो साँझ पक्राउ गरेको हो ।
गिरीविरुद्ध यसअघि नै कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेकाले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत मोरङमा बुझाइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। त्यसपछि अदालतले उनका हकमा आदेश जारी गर्ने छ । उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो ।
परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए । परिवारका सदस्यले भने हत्या भएको भन्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रुपमा अनुसन्धान अघि बढायो । घटनाका आरोपीमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईको हकमा अदालतले गत बिहीबार आदेश दिइसकेको छ । आदेश अनुसार दर्जी पूर्पक्षका लागि थुनामा छन् भने राई तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटिसके ।
मुद्दामा झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेललाई पनि प्रतिवादी बनाइएको छ । फरार रहेका राजेश, सुदीप र दिपेशको खोजी तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेहरमान, सुदीप र दिपेश गिरीको घरमा डेरा बस्थे ।
आफूसँगै पढेका साथी प्रवीणलाई लिएर राजेश पुस ४ गते त्यहाँ पाहुना गएका थिए । कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा शौरभ होटलका सञ्चालक कुमार राईसँग विवाद भएको देखिएको एसपी खड्काको भनाइ छ । त्यसपछि साथीको डेरामा पुगेर सबै एउटै कोठामा सुतेकामध्ये प्रवीणको भने शंकास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।

