विराटनगर, १३ फागुन । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा जोडिएका दुई प्रतिवादीको बयान सकिएका कारण आज अदालतबाट आदेश आउने सम्भावना छ । सामाजिक सञ्जालमा भाइरल बनेपछि पछिल्लो समय यो प्रकरण निक्कै चर्चामा छ । छ जना प्रतिवादीमध्ये पक्राउ परेका दुई जनाको बयान हिजो जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा सकिएको हो ।
पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्ट प्राप्त भएपछि पक्राउ परेका दुई प्रतिवादीसहित प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएसँगै जिल्ला सरकारी वकिल कार्यालयले छ जनाविरुद्ध अभियोगपत्र तयार पारेर जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । चार प्रतिवादी फरार रहेका कारण खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीलाई प्रतिवादी बनाइएको छ । अदालतका स्रेस्तेदार राजकुमार दाहालले मुद्दा दर्ता भएपछि पक्राउ परेका अभियुक्तहरु मेहरमान र कुमारको बयान लिने काम बुधबार सकिएको जानकारी दिनु भयो ।
वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएमा आजै मुद्दामा अदालतबाट आदेश आउने उहाँको भनाइ छ । दाहालका अनुसार अदालतले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ । यसअघि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा छ जना नै प्रतिवादीलाई छाडिदिएको थियो ।
आफन्तको जिम्मा लगाएर छाडिएकामध्ये चार जना अहिले फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । मृतकको पोस्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट आइसकेपछि अहिले अनुसन्धानको अन्तिम प्रतिवेदन र प्रहरीको रायसहित वकिल कार्यालयमा बुझाइएको खड्काको भनाइ छ । परीक्षण रिपोर्ट विश्लेषण गरेपछि प्रवीणको हत्या नै भएको निस्कर्षमा प्रहरी पुगेको छ ।
प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । मिसिलमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेको भन्दै आफन्त र परिवारका सदस्यसहित स्थानीय बासिन्दा आन्दोलित बनेपछि घटना थप पेचिलो बनेर बन्न पुग्यो । सुतेकै ठाउँमा बेहोस भएको भन्दै उपचारका लागि गोदावरी अस्पताल पुर्याएपछि उनको मृत्यु भएको भनिए पनि श्वासप्रश्वास अवरुद्ध भएको उनको ज्यान गएको रिपोर्ट प्राप्त भएको छ । आफन्त र परिवारका सदस्यले प्रवीणको हत्या नै भएको दाबी गर्दै आएका थिए ।

