विराटनगर, १२ फागुन । मोरंग उर्लाबारी ५ का ३१ बर्षीय प्रविण बाँस्तोला मृत्यु प्रकरणमा ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले ६ जनाविरुद्ध अभियोगपत्र तयार पार्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । अभियुक्तमध्ये दुई जना पक्राउ परेका छन् ।

चार जना फरार छन् । मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीलाई प्रतिवादी बनाइएको छ । उनीहरुमध्ये मेहरमान र कुमार पक्राउ परेका छन् । मुद्दा दर्ता भएपछि न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा पक्राउ परेकासँग बयान लिने काम आज अवेरसम्ममा सकिएको अदालतका श्रेष्स्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो । फरार रहेका चारसहित ६ जना यही घटनामा यसअघि पक्राउ परेका थिए । प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा उनीहरुलाई छाडिदिएको थियो ।

आफन्तको जिम्मा लगाएर छाडिएकामध्ये चार जना अहिले फरार रहेको र खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै एसपी खड्काले कसैको निहित स्वार्थका लागि जनमानसमा प्रहरीविरुद्ध भ्रम छर्ने काम भएको बताउनुभयो । बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । मिसिलमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेको भन्दै आफन्त र परिवारका सदस्यसहित स्थानीय बासिन्दा आन्दोलित बनेपछि घटना थप पेचिलो बनेर गएको थियो ।

प्रहरीका अनुसार आफन्तले गत आइतबारबाट आन्दोलन थालेपछि चार जना फरार भएका हुन् । मृतककी बहिनी सदीक्षाले प्रहरीमा रहेको मिसिल हेर्दा फोटो नै परिवर्तन भएको भेटेपछि आन्दोलन गर्नु परेको बताइन् । अपराधीलाई संरक्षण गरेको लगायतका आरोप लगाएर प्रहरीविरुद्ध चर्को आवाज उठाउँदै उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको लाइभ गरेकी थिइन् । उनी लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको भूमिकाप्रति आक्रोस पोखेको विषय भाइरल बनेको थियो । मृतकका आफन्तले दोषीलाई उन्मुक्ती दिइएको भनेर न्याय माग्दै हिजो विराटनगरमा प्रदर्शन पनि गरेका थिए ।