विराटनगर, १२ फागुन । मोरङ उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरण घटना थप पेचिलो बनेर गएको छ । आफन्त र परिवारका सदस्यले आन्दोलन चर्काएर लगेपछि यो प्रकरण जटिल मोडमा पुगेको हो ।

दोषीलाई उन्मुक्ति दिने हिसाबमा प्रहरीले घटनालाई बङ्ग्याउन खोजेको आरोप उनीहरुको छ । प्रहरीले भने अनुसन्धानलाई जारी राखेर मजवुत   ढंगबाट प्रमाण संकलन गर्दै घटनाकोे वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ । प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाइएको दाबी गरिरहँदा विश्वास गर्ने आधार नभएको भन्दै आफन्त र परिवारका सदस्यले आन्दोलन चर्काएपछि घटना जटिल मोडमा पुगेको हो ।

उर्लाबारी नगरपालिका– ५ का ३१ वर्षीय बास्तोलाको शंकास्पद मृत्यु प्रकरणलाई लिएर आन्दोलनमा उत्रिएका आफन्त र परिवारका सदस्य दुईवटा बस रिजर्ब गर्दै हिजो विराटनगरमा आएर प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार र सोमबार दुई दिनसम्म इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गर्दै नाराबाजी र प्रदर्शन गरेका थिए । प्रवीणका नातामा दाजु सन्तोष बास्तोलाले भाइको हत्या नै भएको दाबी गर्दै प्रहरीले फितलो अनुसन्धान गरेर घटनालाई कमजोर रुपमा प्रस्तुत गरिदिँदा दोषीहरु छुटेको बताउनुभयो । हत्यामा संलग्नै प्रहरीको लापरबाहीले बिना कारबाही छुटेपछि न्याय माग्दै विराटनगर आउनु परेको उहाँको भनाइ छ ।

विराटनगर आएका आफन्त र परिवारका सदस्यले घटनामा मुद्दा नचल्नुको कारण बारे जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुगेर बुझेका छन् । प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति दिन मिसिलमा फोटो परिवर्तन गरेको आरोप आफन्तको छ । अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा प्रवीण सुत्न गएका थिए । आफन्त र परिवारका सदस्यले अस्पतालमा उनको शव पाए । सुतेकै ठाउँमा बेहोस भएको भन्दै उपचारका लागि गोदावरी अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले यसको अनुसन्धान मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले तत्काल मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै घटनाका बारेमा थप प्रमाण संकलन गरेर मुद्दालाई मजवुत बनाउन प्रहरीलाई निर्देशन दिएको थियो । त्यसपछि घटनामा प्रतिवादी बनाइएका उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जी माघ २ गते हाजिरजमानी छुटे । जिल्ला न्यायाधीवक्ता मनोज आचार्यले पक्राउ परेकाहरुलाई कानुन अनुसार नै २५ दिन हिरासतमा राखेर अनुसन्धानपछि छाडिएको जानकारी दिनु भयो ।

अनुसन्धानको मिसिलमा मृतकको ठाउँमा अर्कै व्यक्तिको फोटो राखिएको भनेर आफन्त र परिवारका सदस्य आन्दोलित बनेको पाइए पनि वकिल कार्यालयमा रहेको मिसिलका दुईवटा फोटा भने मृतककै रहेको उहाँको भनाइ छ । गलत नियत राखेर अनुसन्धानलाई प्रभावित पार्ने कुनै काम नभएको निस्कर्ष वकिल कार्यालयको छ । पोस्टमार्टमदेखि लिएर फरेन्सिक रिपोर्टसम्मले हत्या भएको भन्ने नदेखाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले अहिलेसम्म हत्या भन्ने पुष्टि नभए पनि यथार्थ पत्ता लगाउँदै दोषी उम्कन नसक्ने हिसाबले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

प्रहरी कार्यालयमा भएको कपि मिसिलभित्र अर्कै मृतकको फोटो च्यापिएर रहेको कुरालाई आन्दोलनको विषय बनाइएको उहाँको भनाइ छ । घटनामा गलत वा लापरबाही गर्ने मनसाय नरहेका कारण प्रहरीमाथि कुनै पनि शंका नगर्न पोखरेलले आग्रह गर्नु भयो । मृतकका आफन्तसँगको भेटमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यस विषयमा छानबिन सुरु भइसकेका कारण घटनामा लापरबाही देखिए प्रहरीमाथि कारबाही हुने बताउनुभयो ।