विराटनगर, ११ फागुन । मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै आफन्त र स्थानीयबासी विराटनगर आएका छन् ।

आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका आफन्त र स्थानीय आज न्याय माग्दै विराटनगर आएका हुन् । मुद्दा नचल्नुको कारण बारे बुझ्न आफन्त र स्थानीय जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा आएकाछन् ।प्रहरीले हत्यारामा सङ्लग्नलाई उन्मुक्ति दिन मिसिलमा फोटो परिवर्तन गरेको आफन्तहरुले आरोप लगाएका छन् ।उर्लाबारी–५ का ३१ वर्षीय बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए । प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा गएका थिए ।

गिरीको घरमा उनका साथी भाडामा बस्छन् ।ओछ्यानमै बेहास अवस्थामा भेटिएको भन्दै उनका साथीले उपचारका लागि गोदावारी अस्पताल लगेका थिए । परिवारका सदस्यले अस्पतालमै मृत्यु भइसकेपछि प्रवीणलाई भेटेका थिए ।शङ्कास्पद अवस्थामा मृत भेटिएको घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने बताएको थियो ।मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखिएको थियो ।

जसमा एउटा फोटो भने अरु नै व्यक्तिको रहेको थियो । फोटो परिवर्तन गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका कारण वकिलको कार्यालयलले मुद्दा नचलाएको आफन्तको आरोप छ ।घटनाको अनुसन्धानका लागि प्रहरीले उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जी माथि अनुसन्धान गरेको थियो ।

तर गतमाघ २ गते मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयको निर्देशनपछि पक्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटेका थिए ।मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दोलनमा छन् ।आइतबार र सोमबार दिनभर इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि प्रदर्शन गरेका आफन्तले उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले अनुसन्धानमा लापरवाही गरेको आरोप लगाएका छन् ।

प्रहरीले पनि फोटो भुलवस परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले एउटा फोटो मिस्टेक भएको बताउनुभयो । फाटो गलत परेकाले तत्काल परिवर्तन गरी छानविनका लागि डिएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको बताउनुभयो ।टोलीले अनुसन्धान शुरु गरेकोले छिट्टै सत्यतथ्य बाहीर आउने उहाको भनाई छ ।