विराटनगर, ४ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस भोलिबाट मात्रै सुरु हुने भएको छ । श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यो घटना सम्बन्धी मुद्दाको बहस आज भने सुरु हुन सकेन ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले न्यायाधीशहरुले नभ्याएका कारण बेन्चको टुंगो नलागेको बताउनु भयो । उहाँका अनुसार गोलाप्रथामार्फत बेन्चको टुंगो लागेपछि भोलिबाट बहस सुरु गर्ने तयारी छ । मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको गत मंसिर २३ गते अपहरणपछि घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएको थियो ।

विज्ञप्ति जारी गरेर घटना भएकै दिन प्रतिबन्धित विप्लव समूहले घटनाको जिम्मा लिएको थियो । शिक्षक हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

बेन्चको टुंगो नलागेका कारण पक्राउ परेका विकसँग अदालतबाट बयान लिने काम पनि सुरु हुन सकेन । विकसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा हिजो अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । अपहरणपछि हत्यामा संलग्न भएको आरोप लागेका ४१ जना भने अझै फरार छन् ।

प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अदालतमा मुद्दा दर्ता गरेको हो ।

शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा विप्लव समूहका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित ४२ जनालाई अभियुक्त बनाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको   छ ।