इलाम-इलामको चर्चीत पर्यटकीय स्थल कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । स्वदेशी पर्यटकको रोजाईमा परेको कन्यामको सहिद पार्कबाट पर्यटकलाई लक्षित गरी प्याराग्लाईडिङ उडाउन शुरु गरिएको हो । पोखराबाट दुई जना दक्ष पाईलट ल्याएर कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले सेवा शुरु गरेको छ । बाह्रै महिना पर्यटको भीड हुँने कन्याममा कम्पनीले दैनिक दुई वटा प्याराग्लाईडिङबाट पर्यटकलाई सेवा दिन थालेको छ ।

सहिद पार्कबाट उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको व्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिए । प्रधानका अनुसार कन्याबाट दुई वटा प्याराग्लाईडिङ दैनिक तीन पटकका दरले छ पटक सेवा दिन थालिएको छ । पर्यटकको चाप हेरी प्याराग्लाईडिङको संख्या थप गर्ने उनले जानकारी दिए ।

प्याराग्लाईडिङ संचालन गरिएको उडान भर्ने स्थान र ल्याण्ड गर्ने स्थानको थप व्यवस्थापन गर्ने काम भैरहेको छ । पोखराबाट आएका दक्ष पाइलट सुनिल थापा र महेन्द्रबहादुर भट्टराईले प्याराग्लाईडिङको उडान भराउँदै आएका छन् । पाइलट थापाले नयाँ ठाउँ भएकाले कन्यामबाट प्याराग्लाईडिङको उडान परीक्षणकै क्रममा रहेको बताए । 

एक हजार ६७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटरमाथि सम्म प्याराग्लाईडिङ लैजाने गरिएको छ । व्यवस्थापन पक्षले एक पटक प्याराग्लाईडिङ गर्दा प्रति एक जना पर्यटकबाट पाँच हजार पाँच सय रुपियाँ दिने दररेट निर्धारण गरेको छ ।