विराटनगर - अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला प्रदेश १ बाट मुलुकका अन्य स्थानमा अक्सिजन पठाउन थालिएको छ । मोरङ र सुनसरी प्रशासनको समन्वयमा आवश्यकता र प्राथमिकताका आधारमा अक्सिजन पठाउन थालिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेशमा अहिले अक्सिजन अभाव नरहेको बताए।

प्रदेशमा आवश्यकताभन्दा बढी नै उत्पादन भइरहेकाले चरम अभाव रहेका अन्य स्थानमा पठाउन सहज भएको उनको भनाइ छ । अक्सिजन आवश्यक पर्ने गम्भीर प्रकृतिका संक्रमितको अकालमा ज्यान गइरहेको अवस्थालाई रोक्ने प्रयास स्वरुप धमाधम अक्सिजन पठाउने काम भइरहेको निरौलाले बताए । उनका अनुसार यसअघि सामान्य अवस्थामा सिरहा, सप्तरी, धनुषा लगायतसम्म यहाँबाट अक्सिजन जाने गरेको थियो । तर अहिले कोरोनाका कारण सबैतिर हाहाकार हुँदा भैरहवा, डडेलधुरा, काठमाडौं, मकवानपुर, दाङलगायतका स्थानलाई पनि प्रदेशमा रहेका उद्योगहरुले भरथेग गनुपर्ने अवस्था आएको प्रजिअ निरौलाको भनाइ छ ।

माग भएका स्थानबाट खाली सिलिन्डर ल्याइएपछि मोरङ र सुनसरीमा रहेका उद्योगले भरेर पठाउने गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताए । नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर विराटनगर विमानस्थल हुँदै हवाई मार्गबाट अक्सिजन पठाउने गरिएको छ । सेनाको जहाजबाट हिजो मात्रै दुई पटक अक्सिजन भैरहवा लगिएको छ भने ढुवानीका अन्य साधनको प्रयोग गरेर स्थलमार्ग हुँदै पाँच सय ९२ सिलिन्डर बाहिर पठाइयो ।

एसपी खड्काले राज्यमा आवश्यकता खड्किएका बेला अक्सिजनमा प्रदेश १ ले ठूलो योगदान गरिरहेको बताए । एक साताको अवधिमा सुनसरीबाट दुई हजारभन्दा बढी सिलिन्डर अक्सिजन बाहिर पठाइसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । संक्रमण तीव्र रुपमा फैलिएर अक्सिजनको माग बढ्दा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएकाले आवश्यकता परेका स्थानमा पठाउन थालिएको उनको भनाइ छ ।

मोरङमा दुई र सुनसरीमा तीनवटा अक्सिजन उद्योग छन् । सबै उद्योगले दैनिक दुई हजार सात सय सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन् । प्रदेश १ मा भने अहिले दैनिक एक हजार पाँच सय सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । अक्सिजनमा प्रदेश आत्मनिर्भर रहेको उहाँको भनाइ  छ । मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले धमाधम अक्सिजन उत्पादन गरिरहेका छन् ।