विराटनगर–बाढी र पहिरोले कोशी प्रदेशको तीन पहाडी जिल्लामा ३ हजार ९ सय १५ हेक्टरमा  लगाएको धानबाली बाढी र पहिरोले बगाउदा ६ हजार ९ सय ८५ मेट्रिकटन धानवाली नष्ट भएको छ । त्यसै गरि ती जिल्लामा बाढी र पहिरोले गोठ बगाउदा १९१ पशु चौपाय मरेका छन ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयले दिएको विवरण अनुसार ओखलढुंगा, तेह्रथुम र खोटाङ जिल्लामा विभिन्न गाउँ पालिका तथा नगरपालिकामा गएको पहिरो तथा बाढीले बगाएर उक्त क्षति भएको हो । अन्य जिल्लाको क्षति विवरण आउने क्रममा रहेको मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए । 

उनका अनुसार मन्त्रालयमा क्षतिपूर्तिको ब्यावस्थाका लागि बजेट छुट्याइएको हुदैन तर सबै विवरण संकलन भएपछि सरकारले निर्णय गरेमा त्यहि अनुसार क्षतिपूर्ति वा राहत वितरण हुन्छ । कतिपय जिल्लामा विद्युत आपूर्ति र संचार सम्पर्कमा समस्या आएको कारण विवरण संकलन गर्न केही कठिनाइ भएको कारण सम्पूर्ण क्षतिको विवरण आइनसकेको उनले बताए । 

कृषिको बालिको बिमा गर्न बिमा प्राधिकरणले प्रत्येक जिल्लामा बिमा कम्पनीहरुलाई खटाएको र तिनै प्रतिनिधिसंग किसानले बाली र पशुको बिमा गर्ने गरेका छन । मन्त्रालयले किसान र विमा कम्पनीका प्रतिनिधिसंग छलफल गराएर बिमाका फाइदाहरुका बारेमा जानकारी गराइदिने कामको समन्वय गर्ने गरेको तर बालीको बिमा गर्ने कि नगर्ने भन्ने किसानकै इच्छामा भर पर्ने भएकाले कतिपय किसानले बिमा गर्ने र कतिपयले बिमा गर्न इच्छा नदेखाउने गरेकाले यसरी क्षति हुदा बिमा गरिएका किसानले क्षतिपूर्ति बिमा कम्पनीबाट पाउने भएपनि कतिपय किसानले बिमा नगर्दा भने त्यस्ता किसानको भने क्षति हुने गरेको छ । 

असोज १२ गते आएको बाढी र पहिरोले ओखलढुंगाको मानेभञ्ज्याङ्ग, सुनकोशी, चम्पादेवी गाउँपालिकामा लगाएको १३ हेक्टर धानबालीमा १३ हेक्टर नै बगाउदा ८७ मेट्रिकटन धानबालीको क्षति भएको छ । त्यस्तै तेह्रथुमको मेन्छायामेम, आठराई, छथर, फेदाप गाउँपालिका, म्याङलुङ र लालिगुराश नगरपालिकामा ३४ हेक्टरमा लगाएको धान नष्टहुदा ५३ मेट्रिक टन धानबालीको क्षति भएको छ त्यसैगरि जिल्लामा अलैंची, हिउदे मकै, कोदो, लगायतका बालीमा समेत क्षति पुगेको छ । 

त्यसैगरि खोटाङको दिक्तेल रुपाकोट मझुवा नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ्ग, साकेला, एैसेलुखर्क, र जन्तेढुंगा गाउँपालिकामा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको छ । यी पालिकाहरुमा ३९ सय १५ हेक्टरमा लगाएको धानबालीमा क्षति पुग्दा ६८ सय ४६ टन धानबालीको क्षति भएको छ । खोटाङमा अलैंची, कोदो र तरकारी बालीमा पनि क्षति पुगेको छ ।   

त्यसैगरि मन्त्रालयले उपलब्ध गराएको पशुचौपायको क्षतिको विवरणमा पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सुनसरी, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा बाढी र पहिरोमा परि गोठ बगाउदा १९१ पशुचौपायको मृत्यू भएको छ । जसमा गाइ बाच्छी ३३ वटा, गोरु बाच्छा, ३, भैसी ७, राँगा २, पाडो १, बाख्रा ७९, बंगुर ४५, कुखुरा २१ वटा मरेका छन । त्यस्तै यी जिल्लाहरुमा २४ वटा गोठ र खोर बगाएको छ । 

उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ब्यावसायी रुपमा ठुलाफर्महरु संचालन गरेर बसेका किसानहरुले क्षतिपूर्तिका लागि कुनै जानकारी नगराएको त्यस बिषयमा कुनै निर्णय नभएको बताए ।  ससाना क्षेत्रफलमा लगाइएको बालीको हकमा र पशु चौपायको हकमा किसानहरुलाई बाली र चौपायको बिमाका लागि आवश्यक सचेतना कार्यक्रम मन्त्रालयले चलाई रहेको र त्यस अन्तरगर्त विमित किसानहरुले क्षतिको पूर्ति बिमाबाट पाउने ब्यावस्था रहेको जानकारी उनले दिए । मनसुनजन्य घटनाहरुबाट क्षति कम गराउनका लागि सबैले कृषि र पशुविमा गराउनुपर्छ भन्ने अभियान संचालन र प्रोत्साहन गरिने बताए ।