विराटनगर-नयाँ पुस्तालाई उद्योग र व्यावसाय तर्फ आकर्षित गर्न उद्योग संगठन मोरङले आयोजना गरेको स्टार्ट अप इनोभेसन कार्यक्रममा छनौट भएका स्टार्टअप उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको प्रर्दशन सम्पन्न भएको छ । पुस १४ गते बिहिबार आयोजित स्टार्टअप उद्यमी हाटबजारमा १८ स्टार्टअपका स्टल राखिएका थिए ।  

नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेरो देश, मेरै उत्पादन’ को साझा लक्ष्यलाई समेत सघाउ पुग्ने गरि आयोजित हाटबजारमा प्रदेश १ का विभिन्न जिल्लाका उद्यमीहरुले स्टल राखेर आ-आफ्नो उत्पादन प्रर्दशन गरे । नव उद्यमीहरुलाई बजारसँग जोडेर उनीहरुलाई बजारको स्थिति, उपभोक्ताको पहिचान तथा आफ्ना उत्पादनमा थप सुधार गर्नुपर्ने पक्षका बारेमा अवगत गराउन हाटबजारको आयोजना गरिएको स्टार्टअप एण्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।

IMG_8112

उद्योग संगठनले छनौटमा परेका विभिन्न जिल्लाका उद्यमीहरुलाई प्रत्यक्ष रुपमा बजारसँग जोडिदिने प्रयास स्वरुप पहिलोपटक हाटबजारको आयोजना गरेको थियो । हाटबजारमा मौरीपालन, माछापालन, जडिबुटी तथा अर्गानिक उत्पादनका साथै प्रविधिजन्य वस्तु तथा सेवाका स्टलहरु राखिएको थियो । बजारमा उपभोक्ताको माग र रुचिबारे जानकारी लिन तथा उपभोक्ताहरुसँग प्रत्यक्ष रुपमा जोडिन स्र्टाटअप उद्यमी हाटबजारले महत्वपुणर् भुमिका खेलेको सहभागी उद्यमीहरुले बताएका छन् ।

उद्योग संगठन मोरङले आयोजना गरेको स्टार्टअप उद्यमी हाटबजारमा बिहीबार मेन्टरसिपमा रहेको १८ जना नव-उद्यमीहरुले सहभागिता जनाएका थिए । स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका लागि गत साउनमा उद्योग संगठन मोरङले दरखास्त आह्वान गरेको थियो । जसमा ४८ जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट २५ जना संगठनको छनौटमा परेका थिए । संगठनले उनीहरुका लागि असोज १५ देखि १८ गतेसम्मका लागि ४ दिने ‘बुट क्याम्प’ को आयोजना गरेको थियो । बुट क्याम्पमा अन्तर प्रेरणा प्रा.लि.ले उनीहरुलाई प्राविधिक प्रशिक्षण तथा परामर्श प्रदान गरेको थियो ।

IMG_8109

उद्योग संगठनले उनीहरुलाई आवश्यक सल्लाह, सुझाव र परामर्श प्रदान गन विभिन्न क्षेत्रका १८ जना विज्ञहरुलाई मेन्टर समेत नियुक्त गरेको थियो । बिहीबारको कार्यक्रममा विज्ञहरुको मेन्टरसिपमा रहेका २५ जनामध्ये सहभागीमध्ये १८ जनाले आ-आफ्नो उत्पादनकोे स्टल राखेका थिए । केही प्राविधिक गडबडी लगायतका कारण बुट क्याम्पका बाँकी ७ जना हाटबजारमा सहभागी हुन सकेनन् ।

बिहीबारको बुट क्याम्पमा मोरङको उर्लाबारी-२ का कुबेर ढुंगानाले ड्रमभित्र माछा पालन गर्न सकिने बायो फ्लक प्रविधि र सोलुखुम्बुका छिरिङ तेन्जिङ शेर्पाले हाईल्यान्ड अर्गानिक कृषि तथा जडिबुटी फार्म नामक कम्पनीद्वारा उत्पादित जडिबुटी प्रर्दशन गरे ।

यस्तै स्टार्टअप उद्यमी हाटबजारमा विराटनगरका प्रविन साहले डायल सेवाको स्टल राखेका थिए । उनले उपभोक्तालाई आवश्यकता अनुसारको सेवा प्रवाहका निम्त्ति उनीहरुलाई डिजिटल प्लाटफर्म मार्फत बजारसँग जोड्न डायल सेवा सञ्चालनमा ल्याईएको बताए । झापाको बुद्धशान्ति-३ बुधबारेकी तारादेवी अधिकारीले शीतला झोला उद्योग मार्फत उत्पादन गर्दै आएको विभिन्न प्रकारका झोलाहरु प्रर्दशन गरिन् । उनीले बिशेष गरि प्लास्टिकलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ घरायसी तथा व्यावसयिक प्रयोजनका झोलाहरु उत्पादन गर्दै आएको जानकारी दिईन् ।

बिहीबार दिनको १ बजेदेखि साँझको ५ बजेसम्म सञ्चालन हाटबजारमा विभिन्न बैंक तथा वित्तीय संस्था, व्यावसायिक परामर्शदाता, उद्योग संगठनको बिजनेश क्लिनिक र स्किल डेभलपमेन्ट क्लिनिक लगायतका स्टलहरु समेत राखिएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री समेतले स्टार्टअप उद्यमी हाटबजारको अवलोकन गरेका थिए ।