चितवन- उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो । अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो । अस्पतालभित्रै सो काउन्टर रहेको छ ।

कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताइन् । बैंकले रु २५ हजारदेखि दुई लाखसम्म यस्तो ऋण धितोबिना नै शून्य व्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

उनले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको जानकारी दिइन् । सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ । व्यवस्थापन विभाग अर्यालले भनिन्, “बैंक धाइरहनुपर्ने झन्झट हुँदैन, हामीले सहजीकरण गरिदिन्छौँ ।” चितवनमा पहिलो पटक यो सुविधा दिइएको जनाइएको छ ।