काठमाडौँ - आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तेस्रो खेलमा नेपालले कुवेतमाथि रोमाञ्चक जित निकालेको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बिहिबार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हरायो । 


कुवेतले दिएको २८ रनको विजय लक्ष्य ३.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् । कुवेतकी मारिया जास्वीले एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो । कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।


कुवेतलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले तीन विकेट लिइन् । करुणा भण्डारीले र कप्तान रुविना क्षेत्रीले समान दुई दुई विकेट लिइन् । सरस्वती कुमारीले एक विकेट लिइन् ।


६ टोली सहभागित छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले हराएको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।


एसिया देशको छनोट स्पर्धामा नेपालसहित, हङकङ, यूएई, मलेसिया, भुटान र कुवेत सहभागी छन् । नेपालले चौथो खेल मङ्सिर १० गते मलेसियासँग र अन्तिम खेल मङ्सिर १२ गते यूएईसँग खेल्नेछ । नेपाली महिला टोलीले पहिलो पटक विश्वकप छनोट खेल खेलेको हो ।



आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो । यस प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।