ताप्लेजुङ-ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो ।

तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।

चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई सडक सञ्जालले जोड्नेछ । यसरी भारत र चीनलाई सडक सञ्जालले जोड्ने निर्माणाधीन तमोर करिडोरको कार्य हाल निरन्तर भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

करिडोरको ट्र्याक निर्माणकार्य भइरहेको र अहिले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने लक्ष्यका साथ हाल काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताए ।

टिपताला नाकादेखि ओलाङ्चुङगोला बस्ती हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर ट्र्याक दुई वर्षअघि नै निर्माण गरिएको छ । ओलाङ्चुङगोलावासीको सक्रियतामा जम्मा भएको बजेट लगानी गरेर तिब्बतको निर्माण कम्पनीमार्फत नाकादेखि गैरीपाटीसम्म सडक निर्माण गरिएको हो । यता, तमोर करिडोरअन्तर्गत सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम,पाँचथरको क्षेत्र हुँदै ताप्लेजुङको ओलाङ्चुङगोला सुकेपानीसम्म हाल ट्र्याक खुलिसकेको छ ।