साफ च्याम्पियनसिप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि भारतलाई बल पोजिसनमा कुनै दवाव दिएको थिएन ।

पहिलो हाफदेखि नै भारतले सिर्जना गरेको आक्रमणलाई कप्तान किरण चेम्जोङले विफल बनाउँदै आएका थिए । खेलको ३४औं मिनेटमा नेपालको खाली पोष्टमा भारतका कप्तान सुनिल क्षेत्रिले गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपाल दोस्रो हाफको ८२औं मिनेटमा फारुख चौधरीको हेडरलाई कप्तानको सुनिल क्षेत्रिको प्रहार गोलमा परिणत भएपछि १-० गोलले भारतसँग पराजित हुन पुगेको हो । यस हारपछि नेपाल नेपाल तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमै छ भने भने तीन खेलमा समान ६ अंक बोकेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

त्यसैगरी हिजोको जीतसँगै तीन खेलमा पाँच अंक लिएर भारत तेस्रो स्थानमा र बंगलादेश तीन खेलमा चार अंकसहित चौथो स्थानमा रहेको छ । अब नेपालले अन्तिम चरणको खेलमा आउँदो बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन भारतले माल्दिभ्ससँग खेल्दैछ ।

यदि नेपालले बुधबारको खेलमा बंगलादेशसँग जीत वा बराबरी मात्र गर्न सकेको खण्डमा पनि नेपालको फाइनल यात्रा सुनिश्चित छ । नेपाल र बंगलादेशको खेल पर्सि बुधबार दिउँसो ४.४५ बजेदेखि माले राष्ट्रिय रंगलशालामा खेलिंदैछ ।