माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने उक्त खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ ।

भारत सात पटकको च्याम्पियन टिम हो । नेपाल भने हालसम्म फाइनलमा पुग्न सकेको छैन । 

भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । 

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ ।