अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आइतबार (आज ) नेपालले ओमानको सामना गर्दै छ । यो खेल कतार युनिभर्सिटी फुटबल मैदानमा नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

असोज १५ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी गर्न कतारमा रहेको नेपालले आज राति मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरीयतामा नेपालभन्दा ओमान ९० स्थान माथि छ। नेपाल १६८ औं स्थानमा रहदा ओमान ७८ औं स्थानमा छ ।

ओमानसँग यसअघि नेपालले ११ खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ। नेपालले ओमानसँग ४३ गोल खाँदा १ गोल गर्न सकेको छ । ओमानविरुद्धको खेलमा नेपाली टिममा रोहित चन्द हुनेछैनन् । हाल व्यवसायिक खेल खेल्न इन्डोनेसिया रहेका रोहित साफ च्याम्पियनसिपका लागि भने उतैबाट माल्दिभ्स पुग्नेछन् ।

नेपाली टिम कतारमा अभ्यास सकेपछि साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने छ । नेपालले साफ च्याम्पियनसिपमा पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग खेल्नेछ । यसअघि नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १-१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २-१ ले पराजित भएको थियो ।