विराटनगर- भारततिर लैजान लागिएको १७ किलोग्राम गाँजासहित विराटनगरबाट शनिबार दिउँसो एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी २५ वर्षीया आरतीदेवी यादवलाई प्रहरीले पक्रेको हो । घरमा छापा हान्दा १७ किलोग्राम गाँजा बरामद भएपछि यादवलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

घरमै गाँजा किनबेच गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । गाँजाको कारोबारमा यादवको मात्रै संलग्नता छ कि अरु पनि संलग्न छन्भन्ने बारेमा अनुसन्धान थालिएको जिसीले बताए । भारत निकासी गर्नका लागि पहाडी जिल्लाबाट ल्याएर राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । नेपालमा गाँजा प्रति किलो २० हजार रूपैयाँसम्ममा किनबेच हुने बताइएको छ ।

भारत पुर्याउँदा दोब्बर मूल्य अर्थात ४० हजार रूपैयाँभन्दा बढी पाइने भएपछि पूर्वी पहाडी जिल्लामा उत्पादन लागुऔषध गाँजाको अवैध ओसारपसार एवं कारोबार बढेको निस्कर्ष प्रहरीको छ । एसपी जिसीका अनुसार पछिल्लो समय गाँजाको कारोबार बढेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ । लागुऔषध गाँजाको कारोबार रोक्न प्रहरीको विशेष टोली नै परिचालन गरिएको जानकारी उनले दिए ।