विराटनगर-  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा एकै परिवारका छ जनाको बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको आज पाँचौं दिन  भएको छ । बौदमान कार्कीको परिवारनै सखाप बनाएको घटनामा प्रहरीले कुनै सुराक नपाउँदा अनुसन्धान अलमलमा परेको छ । हत्यारा पत्ता लगाउन कठिन र असहज भइरहेको छ । भौगोलिक विकटता, निरन्तरको वर्षा, संचार र यातायातको असुविधा प्रभावकारी अनुसन्धानका बाधक बनेका छन् ।

घटना सार्वजनिक भएदेखि नै विशेषज्ञसहित प्रहरीको दक्ष एवं अनुभवी अनुसन्धानकर्ताहरु घटनास्थलमा खटिएका छन् । तर अहिलेसम्म घटनामा मजवुत प्रमाण जुट्न नसक्दा हत्याराको पहिचान र पक्राउ मुस्किल बनिरहेको छ । घटनाको अनुसन्धान र हत्यारा पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली खटिएका छन् । तर घटना भएको ५ दिन भइसक्दासम्म अनुसन्धानले सही दिशा लिन सकेको पाइँदैन । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी घटनास्थलमै छन ।

बिसीले प्रहरीलाई विभिन्न कोणबाट घटनामा केन्द्रित गराएर परिचालन गरेकाछन । निरन्तरको वर्षाले घटनाको प्रमाण नष्ट भएको प्रहरीले जनाएको छ । भौगोलिक विकटताले एक ठाउँबाट अर्को ठाउँमा तत्काल पुग्न सकिने अवस्था छैन । समयमै घटनास्थल पुग्न नसक्दा प्रभावकारी अनुसन्धान नै २४ घण्टापछि मात्रै सुरु भयो । त्यतिबेलासम्ममा घटनास्थलका धेरै प्रमाणहरु लोप भइसकेका थिए । जसका कारण हत्याराले भाग्ने मौका पाएको प्रहरी अनुमान छ । घटनास्थलसम्म यातायातको सहज पहुँच छैन ।

सञ्चार सुविधा कमजोर हुँदा मोबाइलको नेटवर्कले प्रभावकारी काम गर्दैन । तत्काल कुनै सूचना प्रवाह गर्न नसकिने प्रहरी अधिकारी बताउँछन् । घटनापछि स्थानीय शोक र त्रासमा छन् । गाउँको अवस्था सामान्य बन्न नसकिरहेको वडाध्यक्ष खेमराज कटुवालले बताए । भौगोलिक विकटता, अविरल वर्षा, यातायातको असुविधा र सञ्चारको कमजोर उपलब्धताले अनुसन्धानलाई असर गरिरहेको डिआइजी बिसीले बताए । मिहिनेत गरेर अनुसन्धानका सबै पाटोलाई केलाउने काम भइरहेको पनि परिवारै सखाप बनाउने गरी घटना गराउनुपर्ने कुनै कारण अहिलेसम्म नदेखिएको उनँको भनाइ छ ।

उनँले घटनाका बारेमा अफवाह नफैल्याउन, धैर्यता अपनाउन र संयम बन्न सबैमा अनुरोध गर्नु भएको छ । अनुसन्धानमा सबै विधिको प्रयोग भइरहेकाले जतिसक्दो चाँडो अपराधी पत्ता लगाउने प्रयासमा प्रहरी रहेको बिसीले बताए । । प्रहरीले अनुसन्धानमा प्रविधिको व्यापक प्रयोग गरिरहेको छ । जघन्य अपराध बढो संवेदनशिल हुने भएकाले जनप्रतिनिधि र स्थानीयको साथ लिँदै सोधपुछ एवं अनुसन्धानको दायरालाई फराकिलो पारिएको जानकारी बिसीले दिए  । ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा गत सोमबार बिहान शव भेटिएको हो । बर्बरतापूर्वक घटना कति बेला गराइएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।