काठमाडौँ — आज हरितालिका तीज । भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ । यो पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज०को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।  उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिए ।

कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गरे ।