विराटनगर - विराटनगर महानगरपालिकाले विद्यमान कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग गरेको छ ।संघीय र प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोपका साथै स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तराष्ट्रि«य सहर र विभिन्न दातृ  संस्था संग सहयोगको लागि अपिल गरेको छ ।
शनिबार पत्रकारसँग जुम छलफलमा बोल्दै महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्वअनुसार खोप, स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको गुनासो गरेका छन्। उनले भने, ‘खोप खरिदका लागि संघीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरिद प्रक्रियामा अघि बढ्न सकिएको छैन । सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ । जनगुनासो बढ्दो छ । जसकारण खोप ल्याउन सरकारले सहज वातवरण बनाउन  आवश्यक छ ।’
विगतमा विराटनगर महानगरसंग प्रत्यक्षरुपमा काम गरेका र लामो समय देखि सम्बन्ध भएका देशहरु,साथै भगिनी संम्बन्ध कायम भएका र हुनगइरहेका शहरहरु तथा अन्तराष्ट्रिय सस्थाहरु यु.एन.डि.पि., करुणा फाउण्डेशन नेपाल, हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसन, रोटरी क्लव ईन्टरनेशनल र नीजि क्षेत्रले अत्यन्तै सहयोग गरेको भन्दै मेयर पराजुले प्रशंसा समेत गरेका छन् ।
यस्तै महानगरले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोभिडको नयां भेरियन्ट महानगरपालिकामा समुदाय स्तरमा फैलिएको र तेस्रो चरणको समेत भेरियन्ट आउने संभावनालाई मध्यनजर गरी महानगरलाई विगतमा सहयोग गरेका यु.एन.डि.पि., करुणा फाउण्डेशन नेपाल, रोटरी क्लव ईन्टरनेशनल लगायत विश्व स्वास्थ्य संगठन, चीनको उहाँन र उहुँ शहर, संयुक्त राज्य अमेरिकाको यु.एस.ए.आइ.डी, जापानको जाइका तथा सिटिनेट डि.आर.आर. अफिस योकोहामा, बेलायतको डि.एफ.आइ.डी, स्वीजरल्याण्ड सरकारको सहयोग समेतमा संचालित हेल्विटास र एस.डि.ए., कोरियाको कोइका तथा सिटिनेट सचिवालय सियोल, भारत, जर्मनी सरकारको दुतावासहरुलाई अतिआवश्यक स्वास्थ्य सामाग्रीअक्सिजन,कन्सन्ट्रेटर,भेन्टिलेटर, भिटिएम,एन्टिजेन किट,अक्सिमिटर सहित कोरोनाको भ्याक्सिनको प्रबन्धकालागि सहयोगको लागि अपिल गरेको छ ।

मेयर पराजुलीले महानगरले गरेको अपिललाई अन्तराष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्नेमा आशावादी रहेको बताए ।  बिगतका दिनहरुमा पनि ती संस्था र राष्ट्रहरुले गरेको योगदानको पराजुलीले स्मरण गरेका थिए ।